२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

अग्नि परीक्षामा सरकार

२७ चैत्र २०८०, मंगलवार २१:५०

Share

prachanda-sarkar-graphics

सर्वत्र नकारात्मक सूचकहरूको चाङमाथि उभिएको वर्तमान सरकारले यस्ता नकारात्मकताको तारेभीरलाई छिचोलेर अग्नि परीक्षामा उत्तीर्ण बन्नुपर्छ । यो नै वर्तमान सरकारको दायित्व र सफलता पनि हो ।

मुलुकको राजनीतिमा आएको बदलावले नेपाली समाज र जनजीवन अकल्पनीय रूपमा तरंगित हुन पुगेको छ । चौतर्फी रूपमा संकटको भुमरीमा परेको जनजीवनले अब त अलिकति सास फेर्न पाइन्छ कि भनेर आशावादी पनि तुल्याएको छ ।

यद्यपि यतिबेला अर्थतन्त्रमा गम्भीर संकट छ । आन्तरिक ऋणबाट साधारण खर्च गर्नुपर्ने अवस्था पैदा भएको छ । पूँजीगत खर्च अपेक्षित रूपमा हुनसकेको छैन । आयात र निर्यातबीचको खाडल थप गहिरिंदो छ । राष्ट्रिय उत्पादनमा लाग्नुपर्ने युवा श्रमशक्ति विभिन्न ढंगले विदेश पलायन भइरहेको छ ।

युवा समुदायमा हराउँदै गएको आशावादिता मुलुकका लागि खतरनाक छ । अध्ययन र रोजगारीको उद्देश्यमा उनीहरूले देश छोड्दैछन् । किशोर र युुवा जनशक्ति विदेश पलायन भइरहेको छ ।

दलाल अर्थतन्त्रको प्रभाव दलहरूमा व्याप्त बन्दै गर्दा दलहरूभित्र पाका पुराना र पार्टीको निम्ति निजी जीवन कुर्बान गर्ने नेता कार्यकर्ताहरूको ठूलो पंक्तिले अपमानित भएको र मूल्याङ्कनमा नपरेको महसुस गर्दैछन् । दलहरूले आफ्नो लोकप्रिय मत घटाउँदैछन् । जसको फाइदा मुलुकको राजनीतिमा देखा परेका अराजक समूह र प्रतिगामी खेमाले उठाउन खोजेका छन् । परिवर्तनका बेला जागेको जनविश्वास र आशावादमा क्रमशः गिरावट आइरहेको छ ।

गाउँबस्तीहरू वृद्धाश्रममा रूपान्तरित हुँदैछन् । खेतीयोग्य जमीन बुट्यानमा परिणत भइरहेका छन् । भ्रष्टाचार, कमिसन, घुस र तस्करीले जरा गाडेको छ । संवैधानिक र सम्मानित पदसोपानहरू समेत अवाञ्छित क्रियाकलापमा मुछिएको अवस्था छ ।

यस किसिमको सर्वत्र नकारात्मक सूचकहरूको चाङमाथि वर्तमान सरकार उभिएको छ । यही नकारात्मकताको तारेभीरलाई छिचोलेर अग्नि परीक्षामा उत्तीर्ण बन्नु नै वर्तमान सरकारको दायित्व र सफलता पनि हो ।

यस अवस्थामा सरकारका सामु बलिया र भरपर्दा कार्यसूचीहरू हुन जरूरी हुन्छ । ताकि जनसमुदाय मुलुकको राजनीतिका आधारभूत सवालहरूमा आश्वस्त बन्ने अवस्था बन्न सकोस् ।

यतिबेला मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । व्यवस्थामाथि प्रश्न नउठोस् । सहज रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र अगाडि बढोस् । जनक्रान्तिले स्थापित गरेका उपलब्धिमाथि कहीं चोट नलागोस् ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आदिमाथि सडक तताउन खोज्नेहरू निस्तेज बनून् । देशको हितमा आजसम्मको अभ्यासको जगमा उभिएर बरु यी कुराहरूलाई थप बलियो बनाउन परिवर्तनको नेतृत्व गरेका शक्तिहरूले नै आवश्यक परिमार्जनको बाटो खोजुन् ।

खिमलाल भट्टराई

नयाँ गठबन्धन नकारात्मकताबाट सकारात्मकतातर्फको कदम हो । यसो भनिरहँदा यो टिक्छ कि टिक्दैन भनेर सन्देह गर्नेहरूकोे पनि राजनीतिकवृत्तमा ठूलो पंक्ति छ ।

म बाँचुन्जेल उथलपुथल भैरहन्छ भन्ने प्रधानमन्त्री प्रचण्डकोे भनाइले समाजमा कुनै सकारात्मक सन्देश दिएन । जनतामा उत्साह र ऊर्जा पैदा गरेन । बरु अस्थिरताकै सन्देश दियो र निराशा बढाउन पुग्यो । जनताको दुःख र मर्कामा मल्हम लगाऔं नुनचुक नछर्कौं ।

यद्यपि पछिल्लो पटक नयाँ बनेको गठबन्धनले जनतामा थोरै भए पनि आशा पलाएको छ । यो आशालाई मर्न दिनुहुँदैन । जनचाहना र देशको आवश्यकतालाई ध्यानमा राखेर गठबन्धनका दलहरूले आफ्ना काम कारबाहीहरूलाई अगाडि बढाउनुपर्दछ ।

सरकार निर्माण गर्दैगर्दा नेकपा एमालेले जुन फराकिलो छाती देखाएको छ यो प्रशंसनीय छ । यदि ऊ खुम्चिएको हुन्थ्यो भने गठबन्धन सायदै टिक्थ्यो होला । गठबन्धन टिकाउने र अगाडि बढाउने कुरामा आफूभित्रका उँचनीचमा सबै दलहरूमा आवश्यक उदारपन, मानसम्मान र पारदर्शी व्यवहार हुन जरूरी छ ।

यसको अगुवाइ प्रधानमन्त्रीका हैसियतमा स्वयं प्रचण्डले गर्नुपर्दछ । गठबन्धन टुटाइरहने कुराले जनतामा निराशा र असन्तुष्टि पैदा हुन्छ । जसको परिणाम राजनीतिक व्यवस्थामाथि नै प्रश्न खडा हुन पुग्दछ । होशियार बनौं ।

मुलुकमा भ्रष्टाचारको फैलाव व्यापक छ । घुस, कमिसन, तस्करी यी सबै आर्थिक भ्रष्टाचारजन्य व्यवहारहरू हुन् । आर्थिक अनियमितताका अरू पनि नाम र क्रियाकलापहरू हुन सक्दछन् । यद्यपि जनजिब्रोमा झुन्डिएका र राष्ट्रले व्यहोरिएका कुराहरू यी हुन् ।

केन्द्रदेखि स्थानीय तहसम्म र गरिमामय उच्च आसनमा बसिसकेका व्यक्तित्वदेखि उच्च पदस्थहरूमाथि अपराधको आरोप लागिरहेको छ । यसले राष्ट्रको छवि धमिलो बनाएको छ ।

वर्तमान सरकारले यस्ता कुराहरूलाई असाध्यै गम्भीरतासाथ लिनुपर्दछ । कुनै मोलाहिजा राख्नुहुँदैन । अनुसन्धानका निकायहरूलाई बलियो बनाउँदै स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउनुपर्दछ ।

आग्रह राखेर गलत प्रवृत्तिलाई ढाकछोप गर्न थालियो भने राष्ट्र कमजोर बन्न पुग्दछ । यतिबेला आफ्नोको नाममा सरकार गलत प्रवृत्तिको रक्षक बन्न थाल्यो भने कम्युनिस्ट पार्टीको हातबाट सुशासनको एजेन्डा फुत्किनेवाला छ । कम्युनिस्ट पार्टी पनि साँच्चिकै अरू जस्तै बन्न पुग्दछन् ।

त्यसैले बुर्जुवा यथास्थितिवादी पार्टीहरूभन्दा गुणकै हिसाबले हामी भिन्न छौं भनेर सन्देश दिन पनि सरकारले यस्ता कुराहरूमा उदारतावाद त्याग्नुपर्दछ । तस्कर र भ्रष्टाचारीहरू मित्र होइनन् । सरकारले गुणवत्ता प्रदर्शन गर्नुपर्दछ ।

राष्ट्रिय अर्थतन्त्र धराशायी भएको छ । ठूलो जनशक्ति विदेश पलायन हुँदा रेमिट्यान्समा केही बढोत्तरी हुनु स्वाभाविकै हो । यसलाई अर्थतन्त्रमा खासै सुधार आएको भन्न सकिन्न । विदेशी ऋण, अनुदान र रेमिट्यान्स बढ्ने कुरा सोचनीय र सापेक्षिक सकारात्मक कुराहरू हुन् ।

विदेशी ऋण र अनुदानको मात्रा बढ्यो भने त्यसमा सन्तोष गरौंला । रेमिट्यान्स पनि वैदेशिक कारोबार कानुनी बाटोबाट हुन थाल्यो भनेर सन्तोष मानौंला । तर यी सन्तोषका कुराहरू मात्रै हुन् । त्यसैले मुख्य कुरा हाम्रो मुलुकको आफ्नो अर्थतन्त्रका सूचकहरूमा सुधार आउनु पर्‍यो ।

यसको तात्पर्य राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनुपर्दछ । खेतीयोग्य जमीनको सदुपयोग हुनुपर्दछ । जमीनको बाँझोपनको अन्त्य हुन जरूरी छ । खाद्यान्नमा नेपाल आत्मनिर्भर हुन सम्भव छ । वन–जंगल र जडीबुटी आदिको सही उपयोग हुनसकेको छैन । यसतर्फ सरकारको उपयुक्त नीति, कार्यक्रम र बजेट हुन जरूरी छ ।

पूँजीगत खर्चको अवस्था दयनीय छ । भएको रकम खर्च गर्न नसक्नेले अरूसँग माग्ने पनि हैसियत गुमाउँछ । विकास निर्माणका कामहरूलाई तीव्रता दिनुपर्दछ । ठेकेदार कम्पनीहरूलाई दोष दिएर मात्रै हुँदैन । उनीहरूका जायज भनाइ र शर्तहरूलाई सुनुवाइ गर्न पनि त्यत्तिकै आवश्यक छ ।

रोजगारी सिर्जना गर्न सक्ने र युवाहरूको विदेश पलायनलाई रोक्ने उपायहरूको अवलम्बन वर्तमान सरकारको दायित्वभित्र पर्दछ । ध्यान आकर्षित होस् ।

सरकारबाट हुनुपर्ने बजेटको निकासी समयमा हुन नसक्दा पनि काममा गतिरोध हुने गरेको छ । अरू निर्माण सामग्रीको उपलब्धता र निर्माणसँग जोडिएका कानुनी र प्रशासनिक झमेलाका कारण पनि काममा ढिलाइ हुने गरेको छ । निर्माण क्षेत्रका यी सबै कुराहरूमा प्रधानमन्त्री स्वयं र अर्थमन्त्रीको पर्याप्त ध्यान जान जरूरी छ ।

राष्ट्रिय गौरवका आयोजनाहरू र अरू पनि ठूला विकास आयोजनाहरूको काममा ढिलाइ हुँदा जनतामा विकासप्रति निराशा पैदा हुन पुगेको छ । बनेका ठूला विकास आयोजना सञ्चालनमा नआउँदा सरकारको योग्यतामाथि नै प्रश्न खडा हुने अवस्था बन्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, बुटवल अन्तर्राष्ट्रिय सभा हल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आदि ठूला विकास पूर्वाधारहरूको सञ्चालनको निम्ति सरकारको क्षमतायुक्त पहलकदमीको आवश्यकता छ ।

देशभित्र राम्रो स्तरीय शिक्षा र रोजगारी नपाउँदा युवाहरूको विदेश पलायन मौलाएको हो । यसको निम्ति शिक्षामा आमूल परिवर्तन गर्न सरकार तयार हुनै पर्दछ । शिक्षालाई रोजगारमूलक र सीपमुखी बनाउन जरूरी छ । प्राविधिक र व्यावसायिक शिक्षामा केन्द्रित हुँदै गुणस्तरमा ध्यान दिनुपर्दछ ।

सरकारले आगामी बजेटबाटै यसको थालनी गर्नुपर्दछ । र सरकारी शिक्षण संस्थाहरूलाई साधारणबाट प्राविधिक व्यावसायिक स्कूल, कलेजमा रूपान्तरणको नीति र योजना ल्याउन जरूरी छ ।

उद्योग र उद्यमहरू धमाधम बन्द भइरहेका छन् । यो दुःखद् कुरा हो । सरकारले उद्योगहरूको सञ्चालनमा उत्साहपूर्ण अवस्था सिर्जना गर्न सक्नुपर्दछ । भएका उद्योगहरू चल्न चलाउन नसक्नेले नयाँ खोलिदेऊ भन्दा अरूले पत्याउन मुश्किल पर्दछ । त्यसैले भएकालाई राम्रोसँग चलाउन सकियो भने अरूहरू पनि स्वतः आकर्षित हुने गुञ्जायस रहन्छ र रोजगारीका अवसरहरूमा वृद्धि हुन सक्दछ । यसतर्फ सरकारको ध्यान जाओस् ।

कृषि क्षेत्रका मलखाद, बीउबिजन, सिंचाइ, उत्पादनको सहज बिक्रीको प्रबन्ध आदि कार्यमा सरकारको ध्यान जानुपर्दछ । आधुनिक र व्यावसायिक कृषिको सञ्चालनमा विशेष जोड दिनुपर्दछ । छिटो रोजगारी सिर्जना हुने यो एउटा विशेष उपाय हुनसक्दछ ।

यसको अलावा पर्यटनको सम्भावना भएका क्षेत्रहरूको पूर्वाधार विकासमा विशेष जोड दिऔं । यहाँबाट पनि हामीले रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौं । यी उपायहरू जसले देशभित्रै रोजगारी सिर्जना गर्न सकुन् र युवाहरूको विदेश पलायनलाई न्यूनीकरण गर्न सकियोस् ।

रोजगारी सिर्जना गर्न सक्ने र युवाहरूको विदेश पलायनलाई रोक्ने उपायहरूको अवलम्बन वर्तमान सरकारको दायित्वभित्र पर्दछ । ध्यान आकर्षित होस् ।

उल्लिखित काम गर्न सकेको खण्डमा सरकार अग्नि परीक्षामा उत्तीर्ण भएको भन्न मिल्छ । सरकारलाई शुभकामना !

(लेखक नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् ।)