२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

बलियो नेतृत्व छान्ने कि कमजोर गठबन्धन ?

२७ चैत्र २०८०, मंगलवार २१:५५

Share

Sher-Bahadur_Deuba_KP-OLi

सत्तारुढ गठबन्धनका हालसम्म बसेका १०० भन्दा बढी बैठकमध्ये कुनै एक दिन पनि विकास र समृद्धिको एजेन्डामा छलफल भएको सुनिएको छैन । विपक्षीलाई कसरी घेराबन्दी गर्ने र आफूले भागबण्डाबाट लाभ कसरी लिने भन्ने बाहेक सत्तारुढ गठबन्धनले कुनै योजना, दृष्टिकोण र नेतृत्व अघि सार्न सकेको छैन ।

मुलुक निर्वाचनमा प्रवेश गरेको छ । असोज २३ गते प्रत्यक्षतर्फ संघ र प्रदेशमा उम्मेदवारी दर्ता भएसँगै मंसिर ४ को तयारी तीव्र बनेको छ । यथार्थमा निर्वाचन नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा हुँदैछ ।

एक्लै लड्दा अस्तित्व समाप्त हुने डरले माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले कांग्रेसको ओत लिएका छन् भने सत्ताधारी गठबन्धनमा अन्तिम बेलामा कुरा नमिलेपछि जनता समाजवादी एमालेसँग आएको छ । राप्रपाले समेत एमालेको साथ खोजेको छ । अर्थात् गत संसद्मा प्रतिनिधित्व गर्ने नेमकिपा बाहेक कुनै पनि दल यसपटक एक्लै चुनावमा गएका छैनन् ।

चुनावी सरगर्मीसँगै सम्भावित चुनावी परिणामका बारेमा आकलन गर्ने क्रम सुरु भएको छ । राजनीतिलाई गतिसँग नबुझ्ने र फिल्डमा के भइरहेको छ भन्ने कुराबाट टाढा बसेकाहरू गत स्थानीय चुनावको आँकडा केलाएर जोडघटाउ गरेर परिणाम निकाल्न व्यस्त छन् । चुनाव दुई ध्रुवका बीचमा हुने भएकाले जनमत पनि यही रूपमा विभाजित हुने पक्का छ ।

सत्तारुढ गठबन्धनको अन्योल, अस्पष्टता र दिशाहीनताको फाइदा नेकपा (एमाले) लाई भइरहेको छ । किनभने, केपी ओलीलाई गाली गर्नुभन्दा उनीहरूसँग अर्को कुनै एजेन्डा नै छैन । ओलीको भूत देखाएर सर्वोच्चका पाँचजना न्यायाधीशलाई समेत आफ्नो पक्षमा पार्न सफल गठबन्धनले जनतालाई पनि त्यही भूत देखाउने बाहेक कुनै नयाँ कुरा दिनसकेको छैन ।

आफू सरकारमा आएको १५ महिना भइसक्यो, कुनै सिन्को भाँच्न सकेको छैन । तर, अहिले पनि सत्तारुढ पार्टीका नेता, मन्त्रीको भाषण केपी ओलीको सरकारले यस्तो गर्‍यो, उस्तो गर्‍यो, यो काम गर्न सकेन भन्ने भन्दा माथि उठ्न सकेको छैन । केपी ओलीले शिलान्यास र उद्घाटन गरेर नाम लेखाउन रहर गरे भनेर आलोचना गर्नेहरूले १५ महिनामा त्यसलाई माथ गरिदिएको भए ओलीको मुखै बन्द हुनेथियो । तर, भ्यागुताको धार्नीमै व्यस्त भएकाले ओली र एमालेका लागि सबभन्दा बलियो एजेन्डा नै यही भएको छ ।

पाँचतिर फर्केको गठबन्धन र सबका अतृप्त आकांक्षा पूरा गर्नुपर्ने भएकाले गठबन्धन सरकार पूर्ण रूपमा दिशाहीन सावित भएको छ । यसले गर्ने प्रत्येक निर्णयमा ठूला नेताका ठूला स्वार्थ जोडिएका छन् । बजेट निर्माणदेखि वित्तीय कम्पनीहरूलाई लाइसेन्स दिनेसम्मका काममा जुनप्रकारले राज्य बिचौलियाहरूको पकडमा गएको देखिएको छ, निर्वाचनमा जनताले गर्ने मूल्यांकनको एउटा प्रमुख आधार यही हुने अनुमान गर्न सकिन्छ ।

संविधान निर्माण भइसकेपछि मुलुक द्रुततर आर्थिक विकासमा जानुपर्ने बेलामा भागबण्डाको राजनीतिले गर्दा विकास ठप्प भएको देख्दादेख्दै फेरि यही गठबन्धनले मत माग्न सक्ने आधार क्षीण भएको छ ।

प्रमुख विपक्षी नेकपा (एमाले) नेतृत्व र एजेन्डासहित निर्वाचनमा होमिंदा सत्तारुढ गठबन्धन सुरुमै रक्षात्मक देखिएको छ । एमालेले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ । तर, सत्तापक्षका कुनै पनि नेतालाई निर्वाचनमा तपाईंको नेता को हो भनेर सोध्दा कुनै नाम लिनसक्ने अवस्था छैन । कसैको नाम लगिहालेमा गठबन्धन बिग्रेला भनेर मौनता साध्नु बाहेक अर्को विकल्प छैन ।

गठबन्धन एउटै भए पनि शेरबहादुर देउवा र पुष्पकमल दाहालका आ–आफ्नै दाउ जनताले देखेका छन् । आफू जसरी पनि प्रधानमन्त्री भइराख्न देउवाले माओवादीलाई साइजमा राखेर सिट बाँडफाँट गरेका छन् भने दाहाल स्वयम् चाहिं पाँच वर्षसम्म सत्ताबाहिर बसिसकेकाले निर्वाचनलगत्तै जसरी पनि प्रधानमन्त्री बन्न चाहन्छन् ।

पदकै लागि पार्टी फुटाएका नेताहरूको त गणना नै गरिरहनुपरेन । आफ्नो पदीय आकांक्षाका लागि जतिबेला र जोसँग पनि गठबन्धन गर्न पछि नपर्ने दाहालले प्रधानमन्त्री पाउने अवस्था भएन भने यही गठबन्धनमा रहँदैनन् भन्ने स्पष्टै छ । यही बुझेर होला, देउवाले माओवादीलाई कमभन्दा कम सिटमा सीमित गरेका छन् ।

एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौं भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४६ स्थानमा चुनाव लडेको छ । यसबीचमा ठूलो संख्यामा नेता, कार्यकर्ता माओवादी पार्टीबाट बाहिरिएका छन् । माओवादी २०६४ यताका प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ ।

यसले माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ । त्यसैले यस निर्वाचनमा आम मतदातालाई अब माओवादी निर्णायक शक्तिका रूपमा रहँदैन र यो ठूलो पार्टी बन्न सक्दैन भन्ने स्पष्ट छाप पर्ने निश्चित छ । यसो हुँदा स्वाभाविक रूपमा त्यस पार्टीप्रतिको जनाकर्षण बढ्ने होइन, घट्ने अवस्था छ । माओवादीका कार्यकर्ता, माओवादी भएका कारण लाभ प्राप्त गरेका वा लाभ प्राप्त गर्न सक्ने अवस्था र उनीहरूका परिवार बाहेक माओवादीसँग आश गर्नेहरूको संख्या खिइँदै गएको छ ।

आगामी निर्वाचन जनमत संग्रहका रूपमा हुनगइरहेको छ । बलियो नेतृत्व छान्ने कि कमजोर गठबन्धन ? समृद्धिलाई केन्द्रमा राख्ने कि भागबण्डा ? राष्ट्रिय हितका पक्षमा उभिने कि विदेशीका लागि ‘कम्फर्टेबल’ हुनेहरूका पक्षमा ? जनताले यी प्रश्नको निरुपण गर्नुपर्नेछ ।

तुलनात्मक रूपमा कमजोर रहेको मधेशमा एमालेको लोकप्रियता बढिरहेकै छ । २०७४ को स्थानीय निर्वाचनमा मधेशमा पाँचौं स्थानमा रहेको एमाले पार्टी विभाजनका बावजुद यस पटकको स्थानीय निर्वाचनमा दोस्रो स्थानमा उक्लिएको छ ।

पछिल्लो एक महिनाभित्रै मधेशबाट मन्त्री, सांसद, प्रदेशसभा सदस्य, मेयर, वडाअध्यक्ष, वडासदस्य भएका दर्जनौं व्यक्तिको नेतृत्वमा ठूलो संख्यामा मानिस एमालेमा प्रवेश गरेका छन् । कुनै बेला केपी ओलीको पुत्ला दहन गरिने मधेशमा आज स्वागतमा सबभन्दा ठूला प्रवेशद्वार बन्ने गरेका छन्, सबभन्दा ठूला माला लगाउने गरिएको छ । मधेशमा अहिले कुनै नेताको व्यक्तिगत क्रेज छ भने केपी ओलीको मात्रै छ ।

अघिल्लो निर्वाचनको अवस्था हेरेर पनि एमालेले मधेशमा जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । माओवादीसँग गठबन्धन भएको बेलामा समेत एमालेले मधेशका ३२ सिटमध्ये जम्मा दुई सिट (धनुषाबाट रघुवीर महासेठ र सिरहाबाट लीलानाथ श्रेष्ठ) मात्र जितेको तीतो अवस्थालाई ध्यानमा राख्दै नेकपा (एमाले) ले तालमेल अघि बढाएको हो ।

यसबापत एमालेभित्रै खेल्ने कोसिस गरिए पनि त्यसबाट एमालेलाई त्यति नकारात्मक प्रभाव पार्ने अवस्था छैन । देशको प्रमुख पार्टी एमाले र मधेशको प्रमुख पार्टी जसपाबीच भएको गठबन्धनले मधेशको चुनावी नतिजामा तात्विक परिवर्तन ल्याउने कुरामा सन्देह छैन । विगतमा आफूलाई मधेशबाट भएको क्षति यसपटक एमालेले सजिलै पूर्ति गर्ने अवस्था सिर्जना भएको छ ।

हामीले शान्ति प्रक्रिया टुंग्यायौं, संविधान बनायौं, संघीयता स्थापना गर्‍यौं, थुप्रै संरचनागत काम सुरु गर्‍यौं । तर, खर्चको तुलनामा उपलब्धि निराशाजनक छ । यस्तो बेलामा अहिलेको चुनाव एजेन्डामा केन्द्रित हुनुपर्ने हो । तर, सत्तारुढ गठबन्धनले एजेन्डामा बहस गर्नुभन्दा मुलुकलाई धु्रवीकरणको अवस्थामा लगेकाले यो एजेन्डा स्वतः ओझेल परेको छ ।

सत्तारुढ गठबन्धनका हालसम्म बसेका १०० भन्दा बढी बैठकमध्ये कुनै एक दिन पनि विकास र समृद्धिको एजेन्डामा छलफल भएको सुनिएको छैन । विपक्षीलाई कसरी घेराबन्दी गर्ने र आफूले भागबण्डाबाट लाभ कसरी लिने भन्ने बाहेक सत्तारुढ गठबन्धनले कुनै योजना, दृष्टिकोण र नेतृत्व अघि सार्न सकेको छैन ।

सत्तापक्ष यस्तो अन्योलमा रुमल्लिएको बेला नेकपा (एमाले) चाहिं स्पष्ट नेतृत्व र नीतिका साथ फिल्डमा उत्रिएको छ । अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘सुखी नेपालीः समृद्ध नेपाल’को अवधारणा कार्यान्वयन गर्न एमाले कटिबद्ध छ । अध्यक्ष ओली प्रधानमन्त्री भएको बेलामा सुरु गरिएका विकासका कामहरू अहिले अलपत्र परेका छन् ।

यतिसम्म कि, रकमको व्यवस्था गरेर एकै दिन शिलान्यास गरिएका ३९५ अस्पताल निर्माण समेत रोकिएको छ । ठूला गेमचेन्जर आयोजना सुरु नगरी मुलुक यस घिसिपिटे अवस्थाबाट माथि उठ्दैन भन्ने दृष्टिकोण केपी ओलीसँग मात्र छ ।

कसैलाई मन परोस् वा नपरोस्, आजको नेपाली यथार्थ यही हो कि केपी ओलीसँग टक्कर लिने अर्को कुनै समकालीन नेपाली नेता छैन । चौतर्फी घेराबन्दी, पार्टी विभाजन, सत्ताको दुरुपयोग, अदालतको प्रयोग, विदेशी प्रहार जस्ता कुरालाई सहेर यति धेरै राष्ट्रिय हितका पक्षमा उभिन सामान्य नेताले सक्दैन । इतिहासमा बलिया भनिएका कतिपय नेताहरू खास बेलामा लत्र्याक लुत्रुक भएको तीतो इतिहासलाई ओलीले दोहोरिन नदिएको मात्र होइन, नेपाल र नेपालीको शिर ठाडो पार्ने एउटा गर्व गर्न लायक इतिहास निर्माण गर्नुभएको छ ।

यथार्थमा आगामी निर्वाचन जनमत संग्रहका रूपमा हुन गइरहेको छ । बलियो नेतृत्व छान्ने कि कमजोर गठबन्धन ? समृद्धिलाई केन्द्रमा राख्ने कि भागबण्डा ? बलियो सरकार छान्ने कि कमजोर गठबन्धन ? राष्ट्रिय हितका पक्षमा उभिने कि विदेशीका लागि ‘कम्फर्टेबल’ हुनेहरूका पक्षमा उभिने ? नेपाली जनताले यी प्रश्नको निरुपण गर्नुपर्नेछ ।